जनकपुरधाम। धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रका सात जनाविरुद्ध ज्यानमार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी राजदेव चौधरीका छोरा सुशिल कुमार चौधरीको जाहेरीका आधारमा नेपाल सरकार वादी र उमेश यादवसहित सात जनाविरुद्ध मुद्दा दर्ता भई अदालतको आदेशअनुसार पक्राउ पुर्जी जारी गरिएको हो ।
पक्राउ पुर्जी धनुषा जिल्ला अदालतबाट जारी भएको हो । उक्त आदेशअनुसार क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैया गाउँका रामसागर यादवका छोरा ३८ वर्षीय उमेश यादव, क्षिरेश्वरनाथ–५ का रामटहल पंजियारका छोरा ६२ वर्षीय योगेन्द्र पंजियार, उनका छोरा ३५ वर्षीय अमर पंजियार, ठकाई मण्डलका छोरा ६० वर्षीय जिवछ मण्डल, उनका छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल र जिवछका अर्का छोरा ३८ वर्षीय कमल मण्डल धानुकको नाममा पक्राउ पुर्जी जारी गरिएको हो ।
अदालतका अनुसार पक्राउ पुर्जीका अनुसूची नं. २२, २३ र २५ गरी जम्मा ६३ पृष्ठ रहेको छ । ती पुर्जी तामेल गरी तामेली प्रतिवेदन अदालतमा पेश गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
मुदा ज्यान मार्ने उद्योगसम्बन्धी भएको र प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको स्रोतले जनाएको छ ।
