छाडा चौपायाले जनकपुर–ढल्केबर सडक असुरक्षित, दिनहुँ दुर्घटना हुँदा पनि उपमहानगर मौन

मौसम झा जनकपुरधाम। जनकपुरदेखि ढल्केबर जाने सडकखण्डमा छाडा चौपायाका कारण दैनिक सवारी दुर्घटना भइरहेका छन्। व्यस्त सडकमा गाई, भैंसीलगायतका चौपाया खुला रूपमा घुम्दा यात्रुहरूको ज्यान जोखिममा परेको छ।

स्थानीय बासिन्दा रामनारायण यादवले आक्रोश व्यक्त गर्दै भने, “यो सडक अब सडक रहेन, गोठ जस्तै भएको छ। दिनहुँ दुर्घटना भइरहँदा पनि उपमहानगरपालिका निदाएको जस्तो देखिन्छ।”

त्यस्तै, दैनिक सो सडक प्रयोग गर्ने एक मोटरसाइकल चालक भन्छन्, “अचानक चौपाया सडकमा आएपछि ब्रेक लगाउने मौका नै हुँदैन। ज्यान जोगियो भने भगवान्‌को कृपा मान्नुपर्छ।”

एक स्थानीय समाजसेवीले उपमहानगरपालिकाको भूमिकामाथि प्रश्न उठाउँदै भने, “दुर्घटना भएपछि मात्रै होस खुल्ने हो भने भोलि ठूलो मानवीय क्षतिको जिम्मा कसले लिन्छ?”

स्थानीयहरूका अनुसार पटक–पटक ध्यानाकर्षण गराउँदा पनि जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि कुनै दीर्घकालीन योजना सार्वजनिक गरेको छैन। “गौशाला, नियन्त्रण र अनुगमन नहुँदासम्म यो समस्या झन् भयावह बन्छ,” उनीहरूले बताए।

स्थानीयवासीहरूले तत्काल छाडा चौपाया नियन्त्रण, प्रभावकारी व्यवस्थापन तथा सडक सुरक्षाका लागि ठोस कदम चाल्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार