जनता 4k न्युज रौतहट । रौतहट निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) का प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेन्द्र राय यादव सँग युवा परिचालन सम्बन्धि महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
समाजवादी युवा संघ, नेपाल को केन्द्रीय युवा निर्वाचन परिचालन टिमद्वारा आयोजित उक्त कार्यक्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै युवाहरूको भूमिकालाई अझ सशक्त बनाउने विषयमा व्यापक विचार–विमर्श गरिएको थियो।
छलफलका क्रममा क्षेत्रका विभिन्न वडा तथा टोलस्तरमा युवा परिचालनलाई प्रभावकारी बनाउने, घरदैलो अभियानलाई तीव्रता दिने, मतदाता सचेतना अभिवृद्धि गर्ने तथा पार्टीका नीति, कार्यक्रम र एजेण्डालाई जनतासम्म पुर्याउने रणनीति तय गरिएको जनाइएको छ।
कार्यक्रममा उम्मेदवार यादवले युवाशक्ति नै सामाजिक परिवर्तन र राजनीतिक रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै युवालाई संगठित, सक्रिय र जिम्मेवार ढंगले निर्वाचन अभियानमा जुट्न आग्रह गर्नुभयो।
समाजवादी युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष मनिष यादव, केन्द्रीय महासचिव दिपु कापरी, समाजवादी युवा संघ, नेपालका मधेश प्रदेश अध्यक्ष कमलेश यादव, युवा नेता अवधेश यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
सहभागी युवाहरूले आगामी दिनमा क्षेत्रका हरेक बस्तीमा पुगेर पार्टीको सन्देश फैलाउने तथा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्न एकजुट भएर परिचालन हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
