जनता 4k न्युज बारा — बारा निर्वाचन क्षेत्र नं. ४ मा समाजवादी युवा संघ, नेपालद्वारा युवा परिचालन तथा चुनावी क्याम्पेनिङ्गलाई प्रभावकारी बनाउने उद्देश्यले विशेष छलफल कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा सहभागी युवा नेताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियान, मतदाता भेटघाट, प्रचार–प्रसारका रणनीति तथा सामाजिक सञ्जालमार्फत जनतासम्म पार्टीका एजेण्डा पुर्याउने विषयमा विस्तृत योजना प्रस्तुत गरेका थिए। युवाशक्तिलाई संगठित, सक्रिय र जिम्मेवार बनाउँदै चुनावी अभियानलाई जनमुखी बनाउनेमा जोड दिइएको थियो।
छलफलका क्रममा स्थानीय तहसम्म युवा परिचालनलाई तीव्र बनाउने, प्रत्येक वडामा स्वयंसेवक परिचालन गर्ने, तथा परिवर्तन, अधिकार र समानताको मुद्दालाई जनतामाझ सशक्त रूपमा लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागीहरूले चुनावलाई केवल राजनीतिक प्रतिस्पर्धा नभई जनअधिकार स्थापित गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा समाजवादी युवा संघका जिल्ला तथा क्षेत्रीय प्रतिनिधि, स्थानीय युवा अगुवा तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले बारा–४ मा पार्टीका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर सक्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेका छन्।
“युवाको शक्ति, परिवर्तनको आधार” भन्ने मूल नारासहित आगामी दिनमा अभियानलाई थप सशक्त बनाइने आयोजकले जनाएको छ।
