जनता 4k न्युज जनकपुरधाम। धनुषा निर्वाचन क्षेत्र नम्बर–३मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार परमेश्वर साहले शुक्रबार जनकपुरधाम वडा नम्बर ३ र वडा नम्बर २५मा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् ।
घरदैलोका क्रममा साहले छाता छापमा मतदान गरी आफूलाई विजयी बनाउन आग्रह गरे । उनले भने, ‘छाता छापमा मतदान गरौँ, जनताको आवाज र पहिचानलाई बलियो बनाऔँ । म यहाँ तपाईंहरूको अधिकार, पहिचान र समृद्धिको पक्षमा काम गर्ने प्रतिबद्धता लिएर आएको छु । हाम्रो साझा प्रयासले मात्र धनुषा–३ को विकास सुनिश्चित गर्न सक्छ ।’
उम्मेदवार साहले स्थानीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राख्दै आफ्ना योजनाबारे मतदातालाई जानकारी गराएका थिए । उनले जनताको आवश्यकता र आकांक्षालाई केन्द्रमा राखेर सबै वडामा समान रूपले विकासका काम अघि बढाइने बताए ।
‘अब हामी एकजुट भएर मात्र समृद्धि हासिल गर्न सक्छौं,’ उनले जोड दिए ।
कार्यक्रममा सहभागी मतदाताले साहका योजनाबारे चासो व्यक्त गर्दै प्रत्यक्ष प्रश्नसमेत सोधेका थिए । विशेषगरी महिला तथा युवा वर्गले शिक्षा र रोजगारी सिर्जना सम्बन्धी स्पष्ट योजनाप्रति उत्साह देखाएको जनाइएको छ ।
घरदैलो अभियानलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण हिस्सा भन्दै साहले प्रत्यक्ष भेटघाटबाट प्रत्येक परिवारको समस्या बुझ्न र समाधानका उपाय प्रस्तुत गर्न सहज हुने विश्वास व्यक्त गरे । ‘जनताको सहभागिता हाम्रो अभियानको मूल आधार हो,’ उनले भने ।
