जनता 4k न्युज जनकपुरधाम। जनकपुरधाममा दिनहुँ छाडा चौपायाका कारण ठूलो दुर्घटना हुनबाट जोगिने अवस्था देखिएको छ, तर सम्बन्धित निकायको ध्यान भने अझै पुगेको छैन।
व्यस्त सडक, बजार क्षेत्र र विद्यालय आसपास छाडा गाई–गोरु सडकमा छाडा घुम्दा सवारी चालकहरू जोखिमपूर्ण अवस्थामा यात्रा गर्न बाध्य छन्। अचानक सडकमा चौपाया प्रवेश गर्दा ब्रेक लगाउनु पर्ने, मोटरसाइकल लड्ने वा सवारी एकआपसमा ठोक्किन सक्ने अवस्था दैनिकजसो दोहोरिन थालेको स्थानीयले बताएका छन्।
स्थानीयवासीका अनुसार पटक–पटक गुनासो गर्दा पनि जनकपुरधाम उपमहानगरपालिका ले प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन। छाडा चौपायाको नियन्त्रण, सुरक्षित गौशाला व्यवस्थापन तथा सडक अनुगमन जस्ता कार्य कागजमै सीमित भएको आरोप छ।
यस समस्यामा मधेश प्रदेश सरकार समेत जिम्मेवार रहेको नागरिकहरूको भनाइ छ। स्थानीय तह र प्रदेशबीच समन्वय अभावका कारण दीर्घकालीन समाधान नआएको उनीहरूको गुनासो छ।
सडक सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हुँदा समयमै व्यवस्थापन नगरे ठूलो मानवीय क्षति हुन सक्ने भन्दै नागरिकहरूले तत्काल ठोस कदम चाल्न माग गरेका छन्।
