जनकपुरधाम । मधेश प्रदेशमा डा. सुनिल रञ्जन सिंह मुख्य न्यायाधीवक्तामा नियुक्त भएका छन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले उनलाई मुख्य न्यायाधीवक्ताको पदमा नियुक्ति पत्र प्रदान गरेका हुन्।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम डा. सिंहलाई मुख्य न्यायाधीवक्ताको जिम्मेवारी तोकिएको हो। आज आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख कर्णले नियुक्ति पत्र हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्।
मुख्य न्यायाधीवक्ताले प्रदेश सरकारका कानुनी सल्लाहकारका रूपमा काम गर्ने, सरकारको तर्फबाट कानुनी मुद्दामा बहस गर्ने तथा आवश्यकता अनुसार कानुनी मार्गदर्शन प्रदान गर्ने जिम्मेवारी वहन गर्नेछन्।
डा. सिंह कानुनी तथा शैक्षिक क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले कानून विषयमा स्नातक तथा स्नातकोत्तर अध्ययन पूरा गर्नुका साथै विद्यावारिधि (पीएचडी) समेत हासिल गरेका छन्। उनको शैक्षिक पृष्ठभूमि र अनुभवले प्रदेशको कानुनी संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ।
नियुक्तिपछि डा. सिंहले संविधान र कानुन केवल कागजमा सीमित नहोस् भनेर जनजीवनमा देखिएका बाध्यतामूलक कठिनाइ समाधान गर्न कानुनी बाटो तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले न्यायमा ढिलाइ, न्यायको पहुँचको अभाव र जनस्तरमा देखिएको अविश्वास जस्ता चुनौती समाधानतर्फ ठोस कदम चालिने बताएका छन्।
मधेश प्रदेशजस्तो सामाजिक, सांस्कृतिक र संवेदनशील विविधता भएको क्षेत्रमा कानुनी नेतृत्वले केवल कानुनको अक्षर मात्र होइन, यसको आत्मा बुझ्न जरुरी रहेको उनको भनाइ छ।
संघीय प्रणालीको सफलताका लागि प्रदेशस्तरको सक्षम, स्वतन्त्र र उत्तरदायी संस्थागत संरचना अपरिहार्य रहेको उल्लेख गर्दै डा. सिंहले प्रभावकारी कानुनी सल्लाह र न्यायिक दिशानिर्देशनमार्फत मधेश प्रदेशलाई व्यवस्थित र सुरक्षित बनाउन योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
