जनता 4k न्युज सिरहा। सिरहाको सिरहा नगरपालिकाका नगर प्रमुख डा. नबिन कुमार यादवले आफूमाथि लगाइएका आरोपहरू पूर्ण रूपमा अस्वीकार गर्दै ती आरोपहरू झुटो र नियोजित भएको दाबी गरेका छन्।
नगर प्रमुख डा.यादवले एक प्रतिक्रिया जारी गर्दै कार्यालय सहयोगीले लगाएको आरोप “सरासर गलत र भ्रामक” रहेको बताएका छन्। उनका अनुसार केही दिनअघि अदालती व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको थियो, जसका आधारमा नेपाल प्रहरी मार्फत पक्राउ पुर्जीसमेत जारी गरिएको उनले उल्लेख गरेका छन्।
डा.यादवले आफूविरुद्ध सुनियोजित रूपमा षड्यन्त्र रचिएको आरोप लगाउँदै भने, “केही कर्मचारी र केही जनप्रतिनिधि मिलेर मलाई फसाउने प्रयास भइरहेको छ। मेरो चरित्र हत्या गर्ने उद्देश्यले यस्ता निराधार आरोपहरू सार्वजनिक गरिएका हुन्।”
उनले छातीको हड्डी भाँचिएको भन्ने आरोपसमेत असत्य भएको स्पष्ट पार्दै यसलाई जनमत प्रभावित पार्ने नियतले फैलाइएको हल्ला मात्र भएको बताए।
यस घटनापछि सिरहा जिल्लामा राजनीतिक तथा प्रशासनिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। स्थानीय तहभित्र कर्मचारी र जनप्रतिनिधिबीचको विवाद सार्वजनिक रूपमा आउनुले प्रशासनिक कामकाजमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
उता, सम्बन्धित पक्षहरूले भने घटनाबारे फरक धारणा राख्दै निष्पक्ष छानबिनको माग गरेका छन्। केही कर्मचारीहरूले आरोप गम्भीर प्रकृतिको भएकाले सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताएका छन्।
यता नगर प्रमुख डा.यादवले आफू निर्दोष रहेको दोहोर्याउँदै कानुनी प्रक्रियाबाट सत्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्। “सत्य लुक्न सक्दैन, छानबिनपछि सबै कुरा स्पष्ट हुनेछ,” उनले भने।
घटनाबारे थप तथ्य बाहिर आउन बाँकी रहेकाले सम्बन्धित निकायको निष्कर्षपछि मात्र वास्तविकता स्पष्ट हुने देखिएको छ।
