जनता 4k न्युज जनकपुरधाम । महिलाहरूमा बढ्दो क्यान्सर जोखिमलाई मध्यनजर गर्दै भक्तपुर क्यान्सर अस्पताल, भक्तपुरको आयोजनामा जनकपुरधाममा निःशुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ।
शिविरमा महिलाहरूका लागि निःशुल्क पाठेघरको मुख जाँच (Pap Smear Test), स्तन परीक्षण (Breast Check Up) तथा जनरल क्यान्सर परीक्षण गरिने आयोजकले जनाएको छ। “शुरुमै उपचार गरेमा क्यान्सर निको हुन्छ” भन्ने उद्देश्यसहित सञ्चालन हुन लागेको यस शिविरमा महिलाहरूलाई आफ्नै स्वास्थ्यप्रति सचेत बन्न आग्रह गरिएको छ।
आयोजकका अनुसार उक्त स्वास्थ्य शिविर २०८३ साल बैशाख २८ गते सोमबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। शिविरको स्थान जनकपुरधाम–२० स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, रुपैठा बेल्ही, देवपुरा रुपैठा तोकिएको छ।
शिविरमा महिलाहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन् भने आफ्ना आफन्त तथा छिमेकीलाई समेत परीक्षणका लागि ल्याउन आग्रह गरिएको छ। यस कार्यक्रमको सह–आयोजनामा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) बारा, महिला लघुवित वित्तीय संस्था लिमिटेड साँगा काभ्रे, नेपाल अर्बुद रोग निवारण संस्था बारा तथा लायन्स क्लब अफ बागमती क्यान्सर केयर रहेका छन्।
आयोजकले महिलाहरूलाई समयमै परीक्षण गराई स्वास्थ्यप्रति सजग रहन अपिल गरेका छन्।
