जनता 4k न्युज जनकपुरधाम। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सवारी साधनको नम्बर प्लेट मापदण्डअनुसार दुरुस्त राख्ने उद्देश्यले सञ्चालन गर्दै आएको विशेष अभियानलाई आज पनि निरन्तरता दिएको छ ।
कार्यालयका प्रमुख सूर्य बहादुर शाहीको नेतृत्वमा सञ्चालन गरिएको अभियान अन्तर्गत सडकमा गुडिरहेका विभिन्न सवारी साधनहरूको नम्बर प्लेट जाँच गर्नुका साथै मेटिएको, अस्पष्ट, तोकिएको मापदण्ड विपरीत राखिएको तथा स्टाइलिस बनाइएको नम्बर प्लेट तत्काल सुधार गर्न निर्देशन दिइएको थियो ।
अभियानका क्रममा ट्राफिक प्रहरीले चालक तथा सवारीधनीहरूलाई ट्राफिक नियम पालना गर्न, सवारी कागजात साथमा राख्न तथा नम्बर प्लेट स्पष्ट र पढ्न मिल्ने अवस्थामा राख्न सचेतना समेत प्रदान गरेको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले यस्तो अभियान आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने जनाएको छ । प्रहरीका अनुसार स्पष्ट नम्बर प्लेटले सवारी साधन पहिचान गर्न सहज हुनुका साथै दुर्घटना न्यूनीकरण र शान्ति सुरक्षामा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
