जातीय विभेद अन्त्यका लागि सबैको साझा जिम्मेवारी: मुख्यमन्त्री सिंह

जनकपुरधाम : जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।

दिवसका अवसरमा एक सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले सदियौँदेखि समाजमा व्याप्त जातीय विभाजन र छुवाछुतजस्ता अमानवीय तथा विभेदकारी प्रथाहरूले समानता, समावेशिता र सामाजिक न्यायमा गम्भीर असर पुर्‍याउँदै आएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यस्ता प्रथाको अन्त्य गर्दै समतामूलक, सभ्य र न्याययुक्त समाज निर्माण गर्नु हाम्रो साझा जिम्मेवारी हो।’

मुख्यमन्त्री सिंहका अनुसार मधेश प्रदेश सरकारले समाजमा व्याप्त सबै प्रकारका विभेदको अन्त्यका लागि नीति, कार्यक्रम तथा जनचेतनामूलक अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। साथै, राज्यका प्रत्येक संरचनामा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु सबैको दायित्व रहेको पनि उनले उल्लेख गरेका छन्।

‘यो दिवसले हामीलाई विगतका गलत अभ्यासबाट शिक्षा लिँदै समावेशी, समतामूलक र सम्मानपूर्ण समाज निर्माणतर्फ प्रेरणा दिने विश्वास लिएको छु,’ शुभकामना सन्देशमा उल्लेख छ।

मुख्यमन्त्री सिंहले दिवसको अवसरमा सबैमा आत्मसमीक्षा, सहिष्णुता र समानताको भावना अभिवृद्धि होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार