जनता 4k न्युज जनकपुरधाम – धनुषाको धनुषाधाम नगरपालिकामा नगरप्रमुख (मेयर) बालेश्वर मण्डलले कर्मचारीमाथि भौतिक आक्रमण र अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको छ।
नगरपालिकाको आर्थिक प्रशासन शाखामा कार्यरत सहायक कर्मचारी सुरेश कुमार मण्डललाई मेयरले कार्यालयभित्रै कुटपिट गरेका हुन्। प्राप्त जानकारी अनुसार, कार्यालयको कामकाजका क्रममा फाइलको साँचो (चाभी) सम्बन्धी सामान्य विषयमा विवाद भएको थियो। सोही क्रममा आक्रोशित बनेका नगरप्रमुख बालेश्वर मण्डलले कर्मचारी सुरेश कुमारलाई अश्लील गालीगलौज गर्दै “यसलाई मारिदिन्छु” भनेर जाइलागेका थिए।
घटनाका प्रत्यक्षदर्शीका अनुसार मेयर निकै उग्र रूपमा प्रस्तुत भएका थिए। मेयरले अन्धाधुन्ध कुटपिट गर्न थालेपछि कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूले बीचबचाउ गरेका थिए। सहकर्मीहरूले समयमै हस्तक्षेप नगरेको भए घटनाले गम्भीर मोड लिन सक्ने र ज्यान नै जोखिममा पर्ने अवस्था रहेको पीडित पक्षले जनाएको छ। घटनापछि स्थिति तनावपूर्ण बनेपछि धनुषाधाम र सबैलाबाट खटिएको प्रहरी टोलीले पीडित कर्मचारीको उद्धार गरेको थियो।
कुटपिटबाट त्रसित बनेका कर्मचारी सुरेश कुमार मण्डलले आफ्नो ज्यानको असुरक्षा भएको भन्दै जिल्ला प्रशासन कार्यालय, धनुषामा उजुरी दर्ता गराएका छन्।
उनले नगरप्रमुखमाथि आवश्यक छानबिन गरी कडा कानुनी कारवाही गर्न र कार्यस्थलमा सुरक्षित वातावरण सुनिश्चित गर्न माग गरेका छन्। 
