खजुरीमा थन्किएका पुराना रेल इन्जिन संरक्षणको पर्खाइमा

जनता 4k न्युज जनकपुरधाम। महोत्तरीको बिजलपुरादेखि भारतको जयनगरसम्म सञ्चालन हुँदै आएको रेल सेवाको ऐतिहासिक सामग्री धनुषाको खजुरी क्षेत्रमा संरक्षण अभावमा नष्ट हुँदै गएको छ। सय वर्ष पुरानासम्मका रेल इन्जिन, डब्बा तथा उपकरणहरू खुला रूपमा छरिएका कारण खिया लाग्नुका साथै चोरीसमेत हुने गरेको स्थानीयवासीले बताएका छन्।

विगतमा जयनगर–जनकपुर रेलमार्गमा कोइलाबाट चल्ने रेल सञ्चालनमा थियो। ती समयका इन्जिन तथा उपकरण हाल अलपत्र अवस्थामा छन्। इन्जिनहरूमा ‘सीता’, ‘विष्णु’, ‘ब्रह्मा’, ‘गोरखनाथ’, ‘पशुपतिनाथ’ र ‘महावीर’ जस्ता नाम उल्लेख भए पनि संरक्षण अभावमा ती विवरणहरू मेटिँदै गएका छन्।

स्थानीयका अनुसार केही असामाजिक तत्वले इन्जिनका फलाम काटेर बेच्ने गरेका छन्। यसले नेपालको रेल इतिहाससँग सम्बन्धित महत्वपूर्ण धरोहर हराउने जोखिम बढेको छ।

स्थानीयवासी तथा सरोकारवालाहरूले खजुरीमा रहेको करिब १० बिघा जमिन उपयोग गरी रेल्वे संग्रहालय स्थापना गर्न माग गर्दै आएका छन्। संग्रहालय निर्माण भएमा पर्यटन प्रवर्द्धनका साथै आर्थिक आम्दानीसमेत बढ्न सक्ने उनीहरूको विश्वास छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडको कार्ययोजनामा समेत पुराना इन्जिन समेटेर संग्रहालय निर्माण गर्ने उल्लेख गरिएको छ। तर, हालसम्म ठोस पहल हुन सकेको छैन।

नेपालमा रेल सेवाको इतिहास एक शताब्दीभन्दा पुरानो छ। रक्सौल–अमलेखगञ्ज रेलमार्गबाट सुरु भएको रेल सेवा जयनगर–जनकपुर हुँदै विस्तार भएको थियो। हाल जयनगरदेखि भंगहासम्म करिब ५२ किलोमिटर रेल सेवा सञ्चालनमा रहेको छ, जहाँ दैनिक हजारौं यात्रु आवतजावत गर्ने गरेका छन्।

स्थानीयहरूले ऐतिहासिक धरोहर संरक्षणमा तत्काल ध्यान दिन सरकारसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार