जनता 4k न्युज जनकपुरधाम, चैत २८ — ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा निरीक्षण तथा ब्रिफिङ कार्यक्रम सम्पन्न भएको छ। तालुक नेपाल प्रहरीअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको हो।
निरीक्षणका क्रममा प्रहरी उपरीक्षक बस्नेतले कार्यालयको समग्र अवस्थाबारे जानकारी लिँदै सेवा प्रवाह, दैनिक कार्यसम्पादन तथा व्यवस्थापन पक्षको सूक्ष्म अनुगमन गरेका थिए। यसैगरी, उनले कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट, पोशाकको मापदण्ड तथा पेशागत अनुशासनको अवस्थाबारे समेत निरीक्षण गरेका थिए।
निरीक्षणपछि आयोजित ब्रिफिङ कार्यक्रममा उनले ट्राफिक व्यवस्थापन कार्यलाई समयानुकूल, प्रभावकारी र जनमैत्री बनाउन निर्देशन दिएका छन्। उनले प्रहरी कर्मचारीहरूलाई अनुशासन, शिष्टता र सेवा भावलाई आत्मसात् गर्दै जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। साथै, बढ्दो सवारी चापका कारण हुन सक्ने दुर्घटनालाई न्यूनिकरण गर्न सचेत, जिम्मेवार र सक्रिय रूपमा परिचालन हुनुपर्नेमा जोड दिएका थिए।
प्रहरी उपरीक्षक बस्नेतले आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै नागरिकसँगको सहकार्य र समन्वयलाई सुदृढ गर्नुपर्ने बताएका छन्। सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना गराउन सचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा समेत उनले जोड दिएका छन्।
कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले प्राप्त निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त निरीक्षण तथा ब्रिफिङ कार्यक्रमले जिल्लामा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार कार्यक्रम सोही दिन सफलतापूर्वक सम्पन्न भएको छ।
