जनकपुर यातायात कार्यालयको सेवा कार्यमा अवरोध गराउनेप्रति सचेत 

जनता 4k न्युज जनकपुरधाम / जनकपुरस्थित यातायात व्यवस्था कार्यालय धनुषाले सेवा प्रवाहमा अवरोध पुर्‍याउने उद्देश्यले गरिएको नियोजित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सोमबार सेवा लिने क्रममा महाशंकर ठाकुर नामक व्यक्तिले तीन वटा एम्बुलेन्सको जाँचपास गराउने क्रममा प्राविधिक शाखामा बलपूर्वक गैरकानुनी दबाव सिर्जना गरेको आरोप लगाएको हो।

कार्यालयका अनुसार ठाकुरले ज.१च १४७४, ज.१च १७०८, र प्रदेश २–०२–००१ च ०२३४ नम्बरका तीन एम्बुलेन्सको जाँचपास गराउन आउँदा सवारी साधन आफैं नल्याई, एम्बुलेन्स सम्बन्धी निर्देशिका तथा प्रचलित कानूनबमोजिम लाग्ने राजस्व तथा जरिवाना तिर्नु नपर्ने गरी काम गराउन दवाव दिएका थिए।

“कानूनसम्मत रूपमा काम गर्न नमिल्ने भएपछि उहाँले केही सीमित व्यक्तिहरूलाई संलग्न गराई नियोजित रूपमा होहल्ला गर्दै आर्थिक चलखेल भएको आरोप लगाए,” विज्ञप्तिमा भनिएको छ, “त्यसक्रममा आफ्नै समूहका कसैलाई भिडियो बनाउन लगाई सामाजिक सञ्जालमा समेत भ्रामक सन्देश सम्प्रेषण गरिएको देखिएको छ।”

कार्यालयले यस्तो नियतपूर्ण र कपोलकल्पित प्रचारप्रति घोर आपत्ति जनाउँदै, त्यस्ता कार्यले सेवाग्राहीको ध्यान अन्यत्र मोड्ने प्रयास भएको स्पष्ट पारेको छ।

यातायात व्यवस्था कार्यालयका प्रमुख धन्नजय कुमार सिंहले भने, “कार्यालयको कुनै पनि सेवा र कार्यप्रणालीप्रति असन्तुष्टि वा गुनासो भएमा आधिकारिक सूचना अधिकारी वा कार्यालय प्रमुखमार्फत प्रत्यक्ष रूपमा समन्वय गर्न सकिने व्यवस्था गरिएको छ।”

उनले सबै सेवाग्राहीलाई यस्ता भ्रममा नपरी संयमित र कानुनी प्रक्रियामार्फत सेवा लिन आग्रह गरेका छन्। कार्यालयले नियमित, छिटोछरितो र पारदर्शी ढंगले सेवा दिँदै आएको समेत जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार