रौतहट । ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधनहरूलाई गरिएको कारबाहीबाट रौतहट जिल्लामा आर्थिक वर्ष २०८१–०८२ मा १ करोड ४७ लाख ३८ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीका अनुसार साउनदेखि असार मसान्तसम्म १६ हजार १४८ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको थियो। उक्त कारबाहीबाट १ करोड,४७ लाख ३८ हजार राजश्व सङ्कलन गरिएको छ।
मासिक हिसाबमा औसत १ हजार ३५० भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन्, जुन ट्राफिक नियम उल्लङ्घनको गम्भीरता र व्यापकता देखाउँछ। यो तथ्याङ्कले ट्राफिक सचेतना र नियम पालना गराउने आवश्यकता अझै बढेको देखाउँछ ।
सोही अवधिमा, रौतहट जिल्लाभर ८०८ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनाहरूमा ६६ जनाले ज्यान गुमाएका छन् भने ९२ जना गम्भीर घाइते भएका छन्। सामान्य घाइतेको सङ्ख्या १ हजार १८४ रहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बढ्दो दुर्घटनालाई न्यून गर्न गत आर्थिक वर्षमा ४ हजार २०९ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। ती कार्यक्रमबाट ८८ हजार ३९ जनाले प्रत्यक्ष लाभ लिएका छन्, जसमा सवारी चालक, यात्री तथा सर्वसाधारण सहभागी थिए।
