‘उत्तराखण्डको घटनास्थल पुग्न हेलिकप्टर नै प्रयोग गर्नुपर्छ, कूटनीतिक पहल गरिरहेका छौं’

भारतको उत्तराखण्डमा गएको पहिरोमा परि नेपालीहरु पनि बेपत्ता भएपछि नेपाल सरकारले खोजीका लागि कूटनीतिक पहल गरिरहेको छ । हालसम्म १७  जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएपछि दिल्लीस्थित नेपाली राजदूतावासले भारतको स्थानीय प्रशासनमा समेत सम्पर्क गरी जानकारी लिइरहेको छ  ।

अहिलेसम्मको अवस्थाबारे दिल्लीस्थित नेपाली राजदूतावासका डीसीएम डा. सुरेन्द्र थापाको भनाइ जस्ताको तस्तै :

उत्तराखण्डमा भएको वर्षापछि आएको बाढीले पुर्‍याएको क्षतिबारे घटना भएदेखि नै हामी अलर्टमा छौं । स्थानीय प्रशासनहरुमा हामीले कुरा गरिरहेका छौं । अहिलेसम्मको जानकारीअनुसार गढवालमा बर्दियाका ५ जना हराइरहेको भन्ने जानकारीसहितको विवरण त्यहाँको प्रहरीले पठाएको छ ।

उत्तरकाशीको धराली बजारमा गत अगस्ट ४ मा भएको ‘क्लाउड ब्रस्ट’ ले त्यहाँका धेरै घरहरु बगाएको छ । त्यहाँ अझै पनि उद्धार कार्य जारी रहेको जानकारी आएको छ ।

हालसम्म ३७२ जनाको जीवितै उद्धार गरेको र ५ जनाको मृत्यु भएको जानकारी हामीसमक्ष आएको छ । मृतकहरुमध्ये कोही नेपाली नरहेको जानकारी पाएका छौं ।

त्यो होटलहरु भएको क्षेत्र भएकाले अन्य धेरै मानिसहरु त्यहाँ परेको आशंका छ । ४० देखि ५० फिटसम्म लेदो जमेको छ । त्यो लेदोले होटलहरु पुरेकाले उद्धार गर्न समस्या परेको छ ।

हामीले पनि त्यहाँको अवस्था बुझ्न जाने कोसिस गरिरहेका छौं ।

घटनास्थल सदरमुकामबाट झण्डै १ सय किलोमिटर टाढा छ । बाढीले धेरै स्थानमा बिगारेकाले सडक मार्गबाट घटनास्थल पुग्न समस्या छ भन्ने जानकारी आएकाले हामी जान सकिरहेका छैनौं ।

त्यहाँ पुग्न हेलिकोप्टर नै प्रयोग गर्नुपर्ने बाध्यता छ । भारत सरकारसँग हामीले पहल गरिरहेका छौं । तर हामी नेपालीहरुको यकिन विवरण लिने र उद्धारका लागि आवश्यक सम्पूर्ण पहल गरिरहेका छौं ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार