जनकपुरधाम। मधेश आन्दोलनबाट उदाएका सक्रिय युवा नेता किसन साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पुस्ता रूपान्तरण र नयाँ राजनीतिक संस्कृतिको बहस चर्किरहेका बेला रास्वपाका वरिष्ठ नेता बालेन शाहले साहलाई पार्टीमा स्वागत गरेका हुन्।
धनुषा क्षेत्र नं ३ मा बलियो युवा नेताका रूपमा चिनिएका साहको रास्वपामा प्रवेशले मधेश केन्द्रित राजनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ। लामो समयदेखि सामाजिक न्याय, पहिचान र समावेशी राजनीतिका पक्षमा सक्रिय रहँदै आएका साहको प्रवेशलाई रास्वपाले युवामैत्री र सुधारमुखी राजनीतिको सन्देशका रूपमा लिएको छ।
पछिल्लो समय मुलुकभित्र पुरानो राजनीतिक संरचनाको विकल्प खोज्ने आवाज बलियो बन्दै गएको सन्दर्भमा साहको रास्वपामा प्रवेशलाई पुस्ता परिवर्तनको अभियानसँग जोडेर हेरिएको छ। यस घटनाले धनुषा लगायत मधेश क्षेत्रमा रास्वपाको संगठन विस्तारमा थप ऊर्जा मिल्ने नेताहरूको विश्वास छ।
