धनुषामा सडकको नाप–नक्सा अनुसार रेखाङ्कन सुरु, स्थानीयलाई सहयोग गर्न आग्रह

लक्ष्मीनिया गाउँपालिका–४ मा सिमाना निर्धारण हुँदै, नापी कार्यालयद्वारा सम्बन्धित सबै पक्षलाई समन्वयका लागि आह्वान

जनता 4k न्युज जनकपुरधाम — धनुषाको नापी कार्यालयले लक्ष्मीनिया गाउँपालिकाभित्र पर्ने सडकको नाप–नक्सा अनुसार रेखाङ्कन प्रक्रिया सुरु गर्ने भएको छ। कार्यालयले औपचारिक सूचना जारी गर्दै सम्बन्धित निकाय, स्थानीयवासी तथा जग्गाधनीलाई आवश्यक सहयोग गर्न आग्रह गरेको हो।

जारी पत्र अनुसार लक्ष्मीनिया गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने क्षेत्रमा सडकको वास्तविक सीमाना निर्धारण गर्न नक्सा अनुसार रेखाङ्कन गरिनेछ। यस कार्यमार्फत पुराना नक्सा र हालको भौतिक अवस्थाबीच देखिएको अन्तर हटाउने तथा सार्वजनिक बाटोको स्पष्ट सीमा कायम गर्ने लक्ष्य राखिएको छ।

नापी कार्यालयले जनाएअनुसार उक्त क्षेत्रमा पर्ने जग्गाहरूको सिमाना छुट्याउँदै बाटोको वास्तविक चौडाइ र मार्ग निर्धारण गरिनेछ। रेखाङ्कन कार्य निर्धारित मितिदेखि बिहान तथा बेलुका सञ्चालन गरिनेछ र यसका लागि प्राविधिक टोली परिचालन गरिएको छ।

कार्य सफल बनाउन लक्ष्मीनिया गाउँपालिकाको कार्यालय , वडा नम्बर ४ को कार्यालय तथा स्थानीय प्रहरी चौकीसँग समन्वय गरिनेछ। साथै, सम्बन्धित जग्गाधनी तथा स्थानीय बासिन्दालाई तोकिएको समयमा उपस्थित भई आफ्नो जग्गाको सिमाना देखाउन र आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ।

यस प्रकारको कार्यले भविष्यमा हुन सक्ने जग्गा विवाद न्यूनीकरण गर्नुका साथै सार्वजनिक बाटोको संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। नापी अधिकृतद्वारा हस्ताक्षरित सूचनामा सबै सरोकारवालालाई सहकार्य गर्न विशेष आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार