फोटो क्रेजको चुनाव: झापा–५ मा ओली र बालेनको फरक भिड, उस्तै रणनीति

दमक । झापा क्षेत्र नम्बर ५ को चुनावी माहोल यसपटक घरदैलोमा मात्र सीमित छैन, सामाजिक सञ्जालको भित्तासम्म फैलिएको छ। आइतबार दमक र कमल गाउँपालिकामा देखिएको दृश्यले यही संकेत गर्‍यो—प्रतिस्पर्धी फरक, पुस्ता फरक, तर चुनावी रणनीतिमा एउटै केन्द्रबिन्दु: फोटो

आइतबार साँझ ५:१७ बजे कमल गाउँपालिकाको दही चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्थानीयसँग भेटघाटमा व्यस्त थिए। त्यही भिडमा स्कुलबाट फर्किँदै गरेकी एक नाबालिका अभिभावकसहित देखिइन्। बालिकालाई काखमा बोकेर ओलीले भने, “ल, फोटो खिचौं।” सचिवालय, पत्रकार र समर्थकले तस्बिर कैद गरे। त्यसपछि पनि ओलीले ज्येष्ठ नागरिक सम्मानदेखि स्थानीय भेटघाटसम्म हरेक स्थानमा फोटोका लागि पोज दिए। समर्थकको नारा थियो— “झापाको भक्का, ओलीको जित पक्का।”

उही दिन दिउँसो दमक बजारको लेखनाथ चोकमा फरक दृश्य देखियो। दिउँसो साढे २ बजे पुग्ने सूचना दिए पनि बालेन शाह ३:२० मा पुगे। तर उनी आउँदा चोकमा भिड पहिल्यै जम्मा भइसकेको थियो। करिब एक मिनेटको पैदल यात्रामा उनका अगाडि–पछि मोबाइल क्यामराको घेरा थियो। गाडी चढ्नुअघि बालेनले मुस्कुराउँदै भीडतर्फ हेरे—त्यसपछि युवाको भिड खुसीले चिच्यायो।

ओली ग्रामीण क्षेत्रमा घरदैलोमा केन्द्रित थिए भने बालेन दमक बजार क्षेत्रमा। दुवैको अभियानमा देखिएको साझा पक्ष थियो—फोटो क्रेज। ओलीको घरदैलोमा बालबालिका अभिभावकसहित लाइनबद्ध देखिन्थे। बालेनसँग भने जेन–जी पुस्ताको बाक्लो, केही हदसम्म अव्यवस्थित भिड देखिन्थ्यो।

‘बा’ भन्दै ढोग्ने वृद्धवृद्धाको लर्कोले ओलीको पुरानो राजनीतिक विरासत झल्काउँथ्यो। बालेनको हकमा दृश्य फरक थियो—फूल र मालाभन्दा बढी मोबाइल क्यामराहरू तेर्सिएका थिए। उनीसँग एउटा सेल्फी खिच्न आतुर युवाहरूको भिड थियो।

राजनीतिक पृष्ठभूमि र उमेर समूह फरक भए पनि दुवै नेताले सामाजिक सञ्जाललाई चुनावी हतियार बनाएका छन्। गेउरिया चोकमा समर्थकले मोबाइलबाट फोटो खिच्न खोज्दा ओलीको सचिवालयले भन्यो, “मोबाइलले नखिच्नु, सबै फोटो बालकोटमा आउँछ।” एमाले अध्यक्ष ओलीको सचिवालयले सञ्चालन गर्ने ‘बालकोट’ फेसबुक पेजमा ती तस्बिर तत्काल सेयर गरिन्छन्।

सामाजिक सञ्जालबाट उदाएका बालेन शाहको पहिचान त झन् स्पष्ट छ। पछिल्लो समय ओली पनि उत्तिकै ‘डिजिटल’ देखिन थालेका छन्। दुवै नेताले मुस्कुराउँदै तस्बिर खिचाउने र ती तस्बिर तत्कालै फेसबुक र टिकटकमा सेयर गरेर मतदाताको ध्यान तान्ने प्रयास गरिरहेका छन्।

चुनावी दौडधुपकै बीच दमक–३ मा रोचक दृश्य देखियो। ओलीको प्रचारका लागि खोलिएको एमाले सम्पर्क कार्यालयमा बालेन शाह पुगे। एमालेका झण्डा र ब्यानरमुनि बसेका कार्यकर्तासँग हात मिलाएर फर्किएका बालेनको यो व्यवहार सामाजिक सञ्जालमा शालीन राजनीतिक संस्कृतिको उदाहरणका रूपमा चर्चामा आयो।

आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट ओली र बालेन आमनेसामने छन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ भने एमालेले ओलीलाई प्रधानमन्त्री बनाउने दाबी गरेको छ। उनीहरूसँगै नेकपाबाट रञ्जित तामाङ, कांग्रेसबाट मन्थरा पौडेल चिमरिया लगायत २३ जना उम्मेदवार मैदानमा छन्। यहाँ १ लाख ६३ हजार ३८९ मतदाता छन्।

दुई ‘भावी प्रधानमन्त्री’को प्रतिस्पर्धाले झापा–५ को चुनाव अब गाउँको चौतारोबाट सामाजिक सञ्जालको टाइमलाइनसम्म पुगेको छ। प्रश्न खुला छ—फोटोको क्रेज मतमा कति बदलिन्छ?

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार