राजविराज, सप्तरी — जनता समाजवादी पार्टी (जसपा) नेपालले सप्तरी क्षेत्र नम्बर २ मा पालिका स्तरीय युवाहरूसँग निर्वाचन केन्द्रित विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ।

समाजवादी युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष मनिष यादवको प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा आसन्न निर्वाचनलाई लक्षित गर्दै युवाहरूलाई संगठित रूपमा परिचालन गर्ने, घरदैलो अभियान सशक्त बनाउने तथा उम्मेदवारहरूलाई भारी मतले विजय गराउने रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।

अध्यक्ष यादवले युवाशक्ति परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै प्रचार–प्रसारलाई प्रभावकारी बनाउन र जनसम्पर्कलाई तीव्र बनाउन आग्रह गर्नुभयो। कार्यक्रममा समाजवादी युवा संघका पूर्व उपमहासचिव बिशाल यादवले पनि युवाहरूको सक्रिय भूमिका निर्वाचनको सफलताका लागि निर्णायक हुने बताउनुभयो।

राजविराजमा सम्पन्न उक्त भेटघाट तथा अन्तरक्रियामा समाजवादी युवा संघ, नेपालका प्रदेश अध्यक्ष कमलेश यादव, धनुषा जिल्ला अध्यक्ष मदन साह, युवा नेता अवधेश यादव, जसपा नेपालका केन्द्रीय सदस्य अशोक यादव,केन्द्रीय सदस्य अनिल यादव, युवा केन्द्रीय सचिव बिनय यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो। साथै सप्तरीका विभिन्न पालिकाबाट आएका युवा नेताहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, युवा परिचालन र प्रचार अभियानलाई अझ तीव्र बनाउने निष्कर्ष निकालेको छ।
