सप्तरी–४ मा जसपा नेपालको क्षेत्र स्तरीय युवा गठन, चुनावी अभियानलाई तीव्रता

जनता 4k न्युज सप्तरी ।

सप्तरी क्षेत्र नम्बर ४ मा जनता समाजबादी पार्टी (जसपा) नेपालले क्षेत्र स्तरीय युवा गठन तथा प्रचार–प्रसार समिति गठन गर्दै आगामी निर्वाचनलाई लक्षित गरेर चुनावी तयारीलाई तीव्र बनाएको छ। गठन कार्यक्रमसँगै यस क्षेत्रका युवा नेताहरू, स्थानीय अगुवाहरू तथा विभिन्न पालिकाबाट आएका युवाबीच व्यापक छलफल गरी चुनाव केन्द्रित गतिविधि अघि बढाइएको हो।

कार्यक्रममा सहभागी नेताहरूले क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. बबी सिंह यादवलाई भारी बहुमतले विजयी गराउने लक्ष्यसहित युवाहरूलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेका छन्। युवाको संगठित सहभागिता बिना राजनीतिक परिवर्तन सम्भव नहुने उल्लेख गर्दै चुनावलाई उत्सवका रूपमा सफल बनाउन सबै तहका कार्यकर्तालाई जिम्मेवारी दिइएको जनाइएको छ।

सो कार्यक्रममा समाजवादी युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष मनिष यादव, केन्द्रीय महासचिव दिपु कापरी, पूर्व उपमहासचिव विशाल यादव, धनुषा जिल्ला अध्यक्ष मदन साह, युवा नेता अवधेश यादव, जसपा नेपालका केन्द्रीय सदस्य अशोक यादव तथा युवा केन्द्रीय सचिव बिनय यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, सप्तरी क्षेत्र नम्बर ४ अन्तर्गतका विभिन्न पालिकाबाट आएका युवा नेताहरू, पार्टीमा लामो समयदेखि सक्रिय रहँदै आएका अगुवा कार्यकर्ताहरू तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले संगठन विस्तार, घरदैलो अभियान, जनसम्पर्क सुदृढीकरण तथा युवामुखी कार्यक्रममार्फत मतदाता समक्ष पार्टीको एजेन्डा पुर्‍याउने विषयमा विस्तृत छलफल गरेका थिए।

वक्ताहरूले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण तथा युवाको नेतृत्व विकासलाई मुख्य प्राथमिकतामा राख्दै राजनीतिक सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए। युवाहरू नै परिवर्तनका संवाहक भएकाले संगठनलाई बलियो बनाउँदै निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

कार्यक्रमलाई स्थानीय स्तरमा चुनावी माहोल निर्माण गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको सहभागीहरूले बताएका छन्। युवा परिचालन, संगठन सुदृढीकरण र जनआधार विस्तारमार्फत आगामी निर्वाचनमा जसपा नेपाललाई निर्णायक सफलता दिलाउने विश्वास नेताहरूले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार