काठमाडौं । माघ महिना सुरु हुनासाथ अप्रत्याशित वृद्धि भएको खानेतेलको मूल्य फागुन पहिलो साता आइपुग्दासम्म पनि घट्न सकेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य बढेको बहानामा उद्योगी र बिचौलियाले छोटो समयमै खानेतेलको मूल्य प्रतिलिटर ३० देखि ५० रुपैयाँसम्म बढाएपछि यसको प्रत्यक्ष मार उपभोक्ताले खेपिरहेका छन् ।
मुलुक यतिबेला प्रतिनिधिसभा चुनावी माहोलले तातिएको छ । राजनीतिक दलका नेताहरू गाउँ-गाउँ पुगेर सुशासन र समृद्धिका आश्वासन बाँडिरहेका छन् । तर, अर्कातिर तिनै मतदाताको भान्सा भने दैनिक उपभोग्य वस्तुको जोहो कसरी व्यवस्थापन गर्ने भन्नेमा अल्झिएको छ ।
एकातिर चुनावको उल्लास छ भने अर्कातिर दैनिक उपभोग्य वस्तु, विशेषगरी खानेतेलको मूल्यमा भएको भारी वृद्धिले सर्वसाधारणमा निराशा र आक्रोश पैदा गरेको छ ।
काठमाडौं शान्तिनगर बस्ने प्रभा पराजुली पछिल्लो एक महिनायता दैनिक उपभोग्य वस्तु महँगिदा ‘बजेट रुटिन’ नै खलबलिएको भन्दै आक्रोशित छन् ।
‘पसलमा तेल किन्न जाँदा हरेक पटक नयाँ मूल्य सुन्नुपर्छ,’ पराजुलीले अनलाइनखबरसँग भनिन्, ‘जसले जति सक्छ लुटौं भनेजस्तो छ ।’
उपभोक्ता मात्र होइनन्, खुद्रा व्यापारीहरू पनि पछिल्लो समयको मूल्यवृद्धिबाट आजित छन् । थोक विक्रेता र उद्योगीले बढाएको मूल्यका कारण आफूहरूले उपभोक्ताको गाली खानुपरेको खुद्रा व्यापारीहरूको दु:खेसो छ ।

नयाँ बानेश्वरका एक खुद्रा व्यापारी उद्योग र होलसेलबाटै मूल्य बढेर आएको हुँदा आफूले पनि सोही मूल्यमा बेचिरहन बाध्य भएको बताउँछन् ।
‘उपभोक्ताहरू मूल्यवृद्धि किन भयो भनेर गुनासो गरिरहनुहुन्छ,’ उनी सुनाउँछन्, ‘अब हामीले महँगोमा किनेर ल्याएको वस्तु सस्तोमा घाटा खाएर दिन सकिँदैन, आजकल दिनहुँ गाली नै खाइरहनुपरेको छ ।’
उनले हिजो मात्रै सनफ्लावर तेल प्रतिकार्टुन २ हजार ८ सय रुपैयाँमा आफूले उद्योगबाट झारेको बताए । ‘तेलको मूल्य ब्रान्ड अनुसार फरक हुन्छ,’ उनले भने, ‘होलसेलमा नै महँगो परेपछि खुद्रामा झनै महँगो पर्न जान्छ, चुनाव घोषणा हुनासाथ तेलको मूल्य एक्कासि बढेर आएको हो ।’
@onlinekhabar
