जनता 4k न्युज जनकपुरधाम । नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत आफ्नो पैतृक गाउँ सपहीस्थित बी.पी. माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ।
मतदानपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै डा. यादवले गत भदौ २३ र २४ गते नवयुवा पुस्ताले गरेको आन्दोलनबाट उत्पन्न राजनीतिक अवस्थालाई समाधान गर्न अहिलेको निर्वाचनको विकल्प नभएकाले मध्यावधि निर्वाचन हुन गएको बताउनुभयो।
उहाँले योग्य र असल जनप्रतिनिधि चयन गर्न सबै मतदातालाई विवेकपूर्ण ढंगले मतदान गर्न आग्रह गर्नुभयो। वर्तमान परिस्थितिको निकासका लागि निर्वाचन नै प्रमुख माध्यम भएकाले आम मतदाताको उत्साहजनक सहभागिता देखिएकोमा आफू खुशी भएको पनि उहाँले उल्लेख गर्नुभयो।
ज्येष्ठ नागरिकसमेत रहनुभएका पूर्व राष्ट्रपति यादवले देशभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै सोच-विचार गरेर असल जनप्रतिनिधि चयन गर्न सबैमा अपिल गर्नुभयो।
उहाँले वर्तमान संविधानले दिएको उपलब्धिको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न अहिले भइरहेको निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
