धनुषामा ६० प्रतिशतभन्दा बढी मतदान, मतपेटिका ढुवानी सुरु

जनता 4k न्युज जनकपुरधाम। धनुषा जिल्लामा भएको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मतदाताले मतदान गरेको प्रारम्भिक अनुमान गरिएको छ।

जिल्लाका ६ सय ४५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सम्पन्न हुँदा सो प्रतिशतमा मतदान भएको प्रारम्भिक अनुमान गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो।

उहाँका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

धनुषाका ४ निर्वाचन क्षेत्रमा गरी कुल ५ लाख १४ हजार ५ सय ७१ जना मतदाता रहेकामा तीमध्ये करिब ६० प्रतिशतले मतदान गरेका छन्।

यता, प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख प्रदेश निर्वाचन अधिकृत रोमबहादुर महतले मतदान प्रतिशतको अन्तिम विवरण संकलनका लागि सम्बन्धित फाराम भर्ने कार्य भइरहेको बताउनुभयो।

यसैबीच विभिन्न मतदान केन्द्रहरूमा मुचुल्का उठाउने काम जारी रहेको र लाहाछाप गरी आज साँझ ६ बजेदेखि निर्वाचन अधिकृतहरूको कार्यालयमा मतपेटिका ढुवानीका लागि सवारी साधनको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिनुभयो।

मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि सर्वदलीय सहमतिका आधारमा आजैदेखि मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणनाका लागि धनुषाका चारवटै निर्वाचन अधिकृत कार्यालयमा आवश्यक तयारी पूरा भइसकेको छ। मधेश प्रदेशका अन्य जिल्लाहरूमा पनि करिब सोही प्रतिशतमा मतदान भएको अनुमान गरिएको छ।

यसैबीच मधेश प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले प्रदेशका २ हजार १ सय ६० मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जानकारी दिनुभएको छ। मतपेटिका ढुवानी पनि सुरु भइसकेको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार