धनुषा ट्राफिक प्रहरीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुर

जनता 4k न्युज जनकपुरधाम । धनुषा जिल्लामा ट्राफिक व्यवस्थापन सुधारका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विभिन्न योजनाबद्ध कामहरू अघि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुर्य बहादुर शाहीको नेतृत्वमा प्रविधिमैत्री र प्रभावकारी ट्राफिक व्यवस्थापनमा जोड दिँदै जनकपुरमा सुधारका पहलहरू भइरहेको हो ।

ट्राफिक प्रहरीको पहलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको गेटमा डिजिटल डिस्प्ले बोर्ड जडान गरिएको छ भने जनकपुरका विभिन्न चोकहरूमा हालसम्म ४३ वटा CCTV क्यामेरा जडान गरिएको छ । यसले ट्राफिक निगरानी तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको ट्राफिक प्रहरीले जनाएको छ ।

हालै जनकपुरको रामानन्द चोकदेखि जनक चोकसम्मको सडकलाई One Way बनाउने निर्णय सर्वपक्षीय सहमतिमा कार्यान्वयनमा ल्याइएको छ । उक्त निर्णयपछि विशेषगरी अस्पताल रोड क्षेत्रमा वर्षौंदेखि हुँदै आएको सवारी जामको समस्या कम भएको स्थानीयहरूले बताएका छन् ।

यसैबीच बाब पेट्रोल पम्प पुल नजिक पटक–पटक दुर्घटना हुने स्थानलाई ‘ब्ल्याक स्पट’को रूपमा पहिचान गरी दुर्घटना न्यूनीकरणका लागि सडक विभागसँग समन्वय गरेर रम्बल स्ट्रिप, जेब्रा क्रसिङ तथा वाल ब्यारियर निर्माण गरिएको छ । साथै नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर दुर्घटनाको कारण बनेको बिजुलीको पोल हटाइएको ट्राफिक प्रहरीले जनाएको छ । उक्त सुधारपछि सो स्थानमा दुर्घटनाको संख्या हाल शून्यमा झरेको बताइएको छ ।

प्रहरी निरीक्षक शाहीको योजनाअनुसार रामानन्द चोकलाई नमुना चोकका रूपमा विकास गर्ने कार्य पनि सुरु गरिएको छ । प्रभावकारी ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण तथा सडक सौन्दर्यकरणलाई लक्ष्य गर्दै सडक विभागसँग समन्वय गरी Flexible Spring Post जडान गर्ने कार्य अघि बढाइएको छ ।

यस योजनाको कार्यान्वयन अघि रामानन्द चोकमै सर्वपक्षीय बैठक आयोजना गरी स्थानीय, सरोकारवाला निकाय र सम्बन्धित पक्षको समर्थन समेत प्राप्त गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक शाहीले जनकपुरका अन्य स्थानहरूमा पनि क्रमशः ट्राफिक व्यवस्थापन सुधार गर्दै सडकलाई थप व्यवस्थित बनाउने योजना अघि बढाइने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार