धनकुटाको साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बुको निधन

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष टेकप्रसाद लिम्बु उपचारको क्रममा निधन भएको छ ।

आन्द्राको क्यान्सरबाट पीडित लिम्बूको उपचार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा भइरहेको थियो ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार ५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर रोगको उपचारमा थिए । २०७९ को स्थानीय तह निर्वाचनमा  कांग्रेसबाट निर्वाचित लिम्बू केही महिनादेखि भारतमा उपचाररत रहेका थिए ।

उपचारकै क्रममा उनको दिल्लीमा निधन भएको हो । उनको निधनको शोकमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको अध्यक्ष राईले जानकारी दिए । स्वर्गीय लिम्बू सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए ।

स्थानीय तहको विकास, सेवा प्रवाह तथा समुदायका समस्याहरू समाधान गर्न उनी सधैं अग्रसर रहन्थे । उनको परिवारका अनुसार अन्त्येष्टिका लागि उनको पार्थिव शरीर जन्मस्थल धनकुटाको खुवाफोकमा ल्याउने तयारी भइरहेको अध्यक्ष राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार