काठमाडौँ । मधेसी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायका प्रतिनिधिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बालेन्द्र शाह (बालेन) को नेतृत्वलाई आम जनताबाट व्यापक समर्थन मिलेको भन्दै खुसी व्यक्त गरेका छन्।
शुक्रबार बसेको संयुक्त मोर्चाको बैठकले लामो समयदेखि मधेसी, थारु तथा अन्य उत्पीडित समुदायले देशको कार्यकारी प्रमुख बन्ने सपना बोकेर गरेको सङ्घर्ष र बलिदानको परिणामस्वरूप बालेनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु आफूहरूका लागि हर्षको विषय भएको उल्लेख गरेको छ। बैठकले बालेनलाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ।
बैठकले नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट स्थापित गरेका गणतन्त्र, सङ्घीयता, लोकतन्त्र र समावेशीतालगायतका उपलब्धिहरूलाई संस्थागत गर्दै संविधान संशोधन, प्रदेश सीमाङ्कन पुनरावलोकन, जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, लाल आयोग को प्रतिवेदन सार्वजनिक गर्ने तथा सङ्घीय व्यवस्थालाई थप सुदृढ बनाउने जस्ता मुद्दाहरू सम्बोधन हुने विश्वास व्यक्त गरेको छ।
त्यसैगरी, बैठकले सङ्घीय लोकतान्त्रिक मोर्चाका अग्रज नेता महन्थ ठाकुर राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल सफल रहोस् भन्ने शुभकामना दिने निर्णय पनि गरेको जनाएको छ।
