बागलुङ । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएपछि उम्मेदवारहरूले आफ्नो खर्च विवरण निर्वाचन आयोगलाई बुझाउन थालेका छन् । विभिन्न माध्यममार्फत उनीहरूले चुनावी खर्च सार्वजनिक गरिरहेका छन् । यही क्रममा म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले पनि आफ्नो चुनावी खर्च सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
उनको चुनावी खर्च २८ लाख ६८ हजार ८६८ रुपैयाँ भएको छ । पुनलाई निर्वाचनका लागि प्रचारप्रसार गर्न गाउँबस्तीमा पुग्दा मतदाताले नै रकम सहयोग गर्ने गरेका थिए । उनले चुनावमा खर्च मात्रै गरेनन्, लाखौँ आम्दानीसमेत गरे । पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तथ्याङ्कअनुसार, चुनावी अभियानका लागि देश तथा विदेशमा रहेका दाताहरूबाट कुल ५६ लाख ३७ हजार ८९३ रुपैयाँ आम्दानी भएको थियो ।
४५ दिन लामो चुनावी प्रचारप्रसारका क्रममा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र अझै पनि बैंक खातामा २७ लाख ६९ हजार २५ रुपैयाँ बाँकी रहेको पुनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । भौगोलिक विकटताका कारण चुनावी अभियान खर्चिलो र चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनले सुगम जिल्ला भएको भए कम रकममै चुनाव जित्न सक्ने दाबी गरेका छन् ।
‘म्याग्दी जिल्ला झापा र काठमाडौँजस्तो एक घण्टामा सबै चुनावी क्षेत्र घुम्न सकिने छैन । दुई चक्कर लगाएर हरेक गाउँमा चुनाव प्रचारप्रसार गर्न पूरा ४५ दिन लाग्यो नि । नपत्याए एक पटक आफैँ आएर घुमेर हेर्नुहोला’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पुनले १० देखि १६ जनाको टोली लिएर ४५ दिनसम्म बिहान ७ बजेदेखि राति १० बजेसम्म खटेर जिल्लाका सबै गाउँमा दुई पटकसम्म पुगेर प्रचारप्रसार गरेको भन्दै, सोही अवधिमा भएको खर्च कटाएर बाँकी रहेको झन्डै २८ लाख रुपैयाँ अब जनताको सेवामा खर्च गर्ने उनले सुनाए । चुनाव प्रचारका क्रममा गाउँ–गाउँ पुग्दा मतदाताहरूसँग बेनीमा सम्पर्क कार्यालय स्थापना गरेर नागरिकको समस्यामा सहजीकरण गर्ने प्रतिबद्धता गरेको उनले उल्लेख गरे ।
बाँकी रकम जनताकै लागि खर्चिने
पुनले निर्वाचन प्रयोजनका लागि खोलिएको राष्ट्रिय वाणिज्य बैंक खातामा, निर्वाचनमा खर्च गरिसकेपछि मौजुदा रहेको २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा सार्वजनिक गरेका छन् । चुनावी अभियानका लागि देश विदेशमा रहेका शुभेच्छुक र आफन्तहरूबाट ५६ लाख ३७ हजार ८९३ रुपैयाँ आम्दानी भएको उनले बताएका छन् ।
निर्वाचन खर्च कटाएर बचत भएको रकमले सदरमुकाम बेनी बजारमा सम्पर्क कार्यालय खोल्ने र गाउँबाट सरकारी कामकाजले आएका सर्वसाधारणलाई सहयोग गर्ने पुनले बताए । सम्पर्क कार्यालयमा अभिलेख राख्नका लागि दुई जना कर्मचारी, कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टर पनि राखेर सेवा दिने उनी बताउँछन् ।
पुनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्– ‘यो पैसा बेनीमा ५ वर्षका लागि मेरो सम्पर्क कार्यालय खोलेर गाउँघरबाट सदरमुकाममा सरकारी कामकाजले आउनेहरूलाई र विभिन्न अफिसहरूमा विभिन्न सहयोग चाहिनेहरूलाई निःशुल्क सामान्य मदत गर्न खर्च गरिनेछ । त्यसका लागि दुई जना कर्मचारी, कम्प्युटर, फोटोकपी मेसिन, प्रिन्टरहरू राखेर सञ्चालन गरिनेछ । यो कुरा मैले गाउँ–गाउँमा चुनाव प्रचारप्रसार गर्ने बेलामा सबैलाई भनेको छु । ठूलो मदत गर्न नसके पनि सानोतिनो सहयोग पक्कै हुनेछ ।’
