जनता 4k न्युज जनकपुरधाम — जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र ठूला सवारी साधनको आवागमनलाई व्यवस्थित गर्न ट्राफिक जनचेतनामूलक होडिङ्ग बोर्डहरू जडान गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल धनुषाको पहल तथा जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा आइतबार विभिन्न स्थानमा सूचना बोर्ड राखिएको हो।
सडक सुरक्षा अभिवृद्धि, सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषाको निर्णयअनुसार ठूला सवारी साधन (ट्रक, टिपर) लाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म नगर क्षेत्रभित्र प्रवेश गर्न निषेध गरिएको छ।
पिराडी चोकबाट भित्री सडक हुँदै मिल्स एरिया र भानुचोकसम्मको क्षेत्रमा हाइवे बाहेकका सडकहरूमा ठूला सवारी साधन प्रवेश निषेध गरिएको जानकारी बोर्डमार्फत सार्वजनिक गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन र नगर क्षेत्रमा बढ्दो सवारी चाप नियन्त्रण गर्न यस्तो व्यवस्था लागू गरिएको बताइएको छ।


