अन्तरजातीय विवाह गरेकी युवती मृत फेला, श्रीमान् पक्राउ

जनता 4k न्युज जनकपुरधाम — धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। घटनापछि माइती पक्षले हत्या भएको आशंका व्यक्त गर्दै प्रहरीमा जाहेरी दिएका छन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। मुकेश र विभाले करिब पाँच वर्षअघि अन्तरजातीय रूपमा भागी विवाह गरेका थिए।

मृतकका दाजु मनिषकुमार महतोका अनुसार विवाहपछिको लामो समयसम्म सन्तान नहुँदा विभामाथि श्रीमान्ले शारीरिक तथा मानसिक यातना दिने गरेका थिए। उनले विभाको शरीरमा नीलडामसमेत देखिएको दाबी गर्दै हत्या गरिएको आशंका व्यक्त गरेका छन्।

सोही आधारमा मृतकका परिवारले मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीसमक्ष जाहेरी दिएका छन्।

जाहेरीपछि प्रहरीले मुकेशलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक अनुसन्धान तीव्र बनाएको जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार