गुल्मी । गुल्मीको मालिका गाउँपालिका–५ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् । वडा नम्बर–७ बस्ने ४४ वर्षीया विमला सुनार मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार छापाहिले राङ्लास्थित राङ्लाबाट पैंयाखर्क जाने भित्री सडक खण्डमा उनी अचेत अवस्थामा फेला परेकी थिइन् । अचेत अवस्थामा भेटिएपछि उनका श्रीमान् र स्थानीयवासीले उनलाई करिब ५० मिटर तल रहेको स्थानबाट उद्धार गरी सुरक्षित स्थानमा ल्याएका थिए । तर, त्यसपछि उनको मृत्यु भएको पुष्टि भएपछि प्रहरीलाई खबर गरिएको थियो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी इस्माबाट खटिएको टोली घटनास्थल पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल पठाइएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा ट्याक्टरको ठक्करबाट उनको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ । सोही आशंकामा लु ४ त ७५५५ नम्बरको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको कानमा चोट देखिएको छ । घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
