जनता 4k न्युज जनकपुरधाम — धनुषाको जनकपुरधाममा रहेका बरिष्ठ युरोलोजिस्टहरूको टोलीले जटिल स्वास्थ्य अवस्थासँग जुधिरहेकी ७६ वर्षीया महिला जमिला खातुनको सफल शल्यक्रिया सम्पन्न गरेको छ।
बरिष्ठ युरोलोजिस्ट डा. सुधिर कुमार सिंह, डा. रमन मिश्र, डा. नविन साह र बिरेन्द्र जिको नेतृत्वमा OT, ICU तथा पोस्ट-अपका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागितामा उक्त अपरेशन सफलतापूर्वक सम्पन्न गरिएको हो।
बिरामी जमिला खातुन लामो समयदेखि मधुमेह (चिनी), उच्च रक्तचाप (ब्लड प्रेसर) तथा थाइरोइड जस्ता गम्भीर रोगहरूसँग संघर्ष गरिरहेकी थिइन्। स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई प्रादेशिक अस्पतालबाट थप उपचारका लागि रेफर गरिएको थियो।
जाँचका क्रममा उनको शरीरमा करिब ४.५ एमएमको पथरी देखिएको थियो। जटिल स्वास्थ्य अवस्था र उमेरका कारण शल्यक्रिया चुनौतीपूर्ण भए पनि चिकित्सकहरूको अनुभवी टोलीले उच्च सतर्कता अपनाउँदै सफलतापूर्वक अपरेशन सम्पन्न गरेको जनाएको छ।
चिकित्सकहरूका अनुसार समयमै गरिएको उपचार र समन्वयात्मक टोली कार्यका कारण बिरामीको अवस्था अहिले सुधारोन्मुख रहेको छ।
यस सफल शल्यक्रियाले जनकपुरधाममै जटिल खालका रोगहरूको प्रभावकारी उपचार सम्भव रहेको सन्देश दिएको छ। साथै, स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरूको समर्पण र दक्षताको समेत पुष्टि गरेको छ।
