झापा । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उनले बताइन् । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्याङ्कले देखाएको छ ।
निर्देशनालयकी अधिकृत खत्रीले एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेङ्गुको सङ्क्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउन अनुरोध गरिन् । ‘डेङ्गु हुनबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिने हो’, उनले भनिन्, ‘घर वरिपरि सफा राख्ने र पानी जम्ने भाँडाकुँडा हटाउने गरेमा पनि एडिज जातको लामखुट्टेबाट बच्न सकिन्छ ।’
असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु आदि डेङ्गुको लक्षण रहेको उनको भनाइ छ । उनले यिनै लक्षणका आधारमा चिकित्सकहरूले डेङ्गु सङ्क्रमितको किटको माध्यमबाट चेकजाँच र उपचार गर्ने उनले बताइन् ।
