जनता 4k न्युज जनकपुरधाम। जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक कार्कीले धनुषा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत धनुषाधाम नगरपालिका वडा नं. २ मा घरदैलो अभियान सञ्चालन गरेका छन्।
अभियानका क्रममा उम्मेदवार कार्कीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधारका विषयमा छलफल गरेका थिए। मतदाताहरूका समस्या र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास दिलाए।
घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मधेशको पहिचान, अधिकार सुनिश्चितता तथा समावेशी विकासका मुद्दालाई केन्द्रमा राखेर अभियानलाई थप सशक्त बनाउने बताएका छन्।
स्थानीयवासीहरूले पनि उम्मेदवारसँग आफ्ना दैनिक जीवनसँग जोडिएका समस्या राख्दै समाधानमुखी नेतृत्वको आवश्यकता औँल्याएका थिए।
आगामी निर्वाचनमा जनताको मतमार्फत परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै अभियानलाई निरन्तरता दिइने आयोजकले जनाएका छन्।
