रामानन्द चोकलाई “नमुना चोक” बनाउने विषयमा छलफल सम्पन्न

जनकपुरधाम । धनुषा जिल्लाको रामानन्द चोकलाई व्यवस्थित ट्राफिक व्यवस्थापनसहित “नमुना चोक” का रूपमा विकास गर्ने उद्देश्यले सरोकारवाला निकायबीच छलफल कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८२ फागुन २६ गते बिहान ८ बजेदेखि १० बजेसम्म ट्राफिक प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुर्यबहादुर शाहीको अध्यक्षतामा उक्त छलफल कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख, जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, वडा नम्बर ८ र ९ का वडा अध्यक्ष, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रतिनिधि, मैथिल विकास कोषका अध्यक्ष, बस, ई–रिक्सा, टेम्पो, माइक्रो तथा फलफूल–तरकारी व्यवसायी संघका प्रतिनिधि, स्थानीय समाजसेवी, भद्रभलादमी तथा विभिन्न युवा क्लबका प्रतिनिधि गरी करिब ५० जनाको सहभागिता रहेको थियो।

छलफलका क्रममा रामानन्द चोक क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, सवारी आवागमनलाई व्यवस्थित गर्ने, पैदलयात्रीको सुरक्षालाई प्राथमिकता दिने तथा सार्वजनिक यातायात र व्यापारिक गतिविधिलाई व्यवस्थित गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

छलफलपछि सरोकारवाला निकाय तथा सहभागीहरूबीच आपसी सहमतिमा आवश्यक निर्णयहरू समेत गरिएको बताइएको छ। धनुषा ट्राफिक प्रहरीले अघि सारेको “नमुना चोक” बनाउने पहलमा सबै सरोकारवालाको सहयोग रहने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार